हर्क साम्पाङको चेतावनी: पाँच वर्षसम्म विरोध जारी रहन्छ, निलम्बनका लागि तयार छौँ


हर्क साम्पाङको चेतावनी: पाँच वर्षसम्म विरोध जारी रहन्छ, निलम्बनका लागि तयार छौँ
  • नवकिरण
  • जेष्ठ ६, २०८३

काठमाडौं, जेठ ६ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार संसदप्रति जिम्मेवार नभएसम्म आफ्नो दलले विरोध जारी राख्ने बताएका छन्। प्रतिनिधिसभामा पर्चा देखाएर गरिएको विरोधलाई लिएर सभामुखले चेतावनी दिएपछि पनि उनी आफ्नो अडानबाट पछि नहट्ने बताएका हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले यस्ता गतिविधि नगर्न निर्देशन दिएका थिए। तर बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध निरन्तर रहने स्पष्ट पारे।

उनले भने, “सरकार जिम्मेवार नबनेसम्म हामी पछि हट्दैनौँ। हाम्रो विरोध पाँच वर्षसम्म पनि चल्न सक्छ।”

साम्पाङका अनुसार सुकुम्बासी समस्या, लिपुलेक विवाद, वैदेशिक ऋण लगायत विषयमा आफूहरूले प्रश्न उठाए पनि सरकारका मन्त्रीहरूले पर्याप्त जवाफ नदिएको गुनासो छ। उनले मन्त्रीहरू बैठकमा नियमित रूपमा उपस्थित नहुने र दबाबपछि मात्र केही मन्त्री उपस्थित हुने अवस्था रहेको बताए।

सभामुखले प्रश्न सोध्ने समय सीमित गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “म संसदीय दलको नेता हो, मलाई दुई मिनेट वा तीन मिनेट भनेर समय तोक्न मिल्दैन,” उनले भने।

निलम्बन हुन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा साम्पाङले त्यसका लागि आफूहरू तयार रहेको प्रतिक्रिया दिए। उनले भने, “जनताको मुद्दाका लागि निलम्बन भए पनि हामी तयार छौँ।”

उनले सभामुख सबै दलको साझा अभिभावक हुनुपर्नेमा जोड दिँदै निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरे।

साम्पाङले आफूहरूको गतिविधि मर्यादित रहेको दाबी गर्दै पर्चा देखाउनु अभिव्यक्तिको माध्यम मात्र भएको बताए। नियमावलीमा पर्चा देखाउन निषेध गरिएको स्पष्ट व्यवस्था देखाउन चुनौती दिँदै उनले आफूहरूको विरोध वैधानिक र शान्तिपूर्ण रहेको जिकिर गरे।