काठमाडौं, जेठ १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनबाट स्थापित राजनीतिक दल र नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार सार्वजनिक गरिएको पार्टीको अपानि–२ मार्फत ओलीले लोकतन्त्रका लागि लामो समयदेखि संघर्षरत दलहरूलाई ‘नयाँ’ र ‘पुराना’ को बहसमा विभाजन गर्दै विस्थापित गर्न खोजिएको दाबी गरेका हुन्।
सन्देशमा उनले २३ र २४ भदौपछिको राजनीतिक घटनाक्रमले देश प्रतिगमनको दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा फर्काउन एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा अडान लिएको बताएका छन्।
ओलीका अनुसार त्यसबेला एमालेले अघि सारेको प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा अन्य लोकतान्त्रिक दलहरूको समर्थन नपाएपछि पार्टी निर्वाचनमा सहभागी हुन बाध्य भएको थियो।
उनले निर्वाचनमा सहभागी भए पनि नतिजा एमालेको पक्षमा नआएको उल्लेख गरेका छन्। साथै, निर्वाचनको परिणाम प्रमुख लोकतान्त्रिक शक्तिहरूको अपेक्षाअनुसार पनि नरहेको उनको भनाइ छ।
निर्वाचन प्रक्रियाप्रति समेत प्रश्न उठाउँदै ओलीले यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक रहेको र त्यसको नतिजा स्वाभाविक नदेखिएको बताएका छन्। यस विषयमा पार्टीले विस्तृत समीक्षा प्रतिवेदनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन्।
