‘नयाँ शक्ति कोल्याप्स हुन्छन्, स्थापित दल फेरि अगाडि आउँछन्’ : पुन


‘नयाँ शक्ति कोल्याप्स हुन्छन्, स्थापित दल फेरि अगाडि आउँछन्’ : पुन
  • नवकिरण
  • जेष्ठ १६, २०८३

काठमाडौं, जेठ १६ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जालको प्रभावबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने दाबी गरेका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संगठनको एक कार्यक्रममा बोल्दै पुनले पछिल्लो निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेका नयाँ दलहरूको प्रभाव क्रमशः घट्दै जाने बताए। उनले भर्चुअल माध्यम र सामाजिक सञ्जालको बलमा तीव्र रूपमा उभिएका राजनीतिक आन्दोलनहरू त्यत्तिकै छिटो कमजोर हुन सक्ने तर्क गरे।

उनले निर्वाचनका बेला सामाजिक सञ्जालमा देखिने जनसमर्थन र वास्तविक राजनीतिक संगठनबीच फरक हुने उल्लेख गर्दै राजनीतिक आन्दोलन, संघर्ष र बलिदानको जगमा निर्माण भएका दलहरू नै अन्ततः देशको नेतृत्वमा फर्किने दाबी गरे।

पुनले २०७९ सालको निर्वाचनपछि मधेश केन्द्रित दलहरूको प्रभाव घटेको उदाहरण प्रस्तुत गर्दै अहिले लोकप्रिय देखिएका शक्तिहरूको अवस्था पनि भविष्यमा त्यस्तै हुन सक्ने बताए। उनका अनुसार स्थानीय तहको निर्वाचनसम्म पुग्दा नयाँ शक्तिप्रतिको जनविश्वास अझ कमजोर हुन सक्छ।

उनले पछिल्लो समय सरकारका केही निर्णय र मन्त्री परिवर्तनका घटनालाई समेत संकेत गर्दै संगठनात्मक आधार कमजोर भएका राजनीतिक शक्तिहरू चाँडै संकटमा पर्ने दाबी गरे।

माओवादी केन्द्रसहितका स्थापित राजनीतिक दलहरूले जनतामाझ प्रभावकारी ढंगले काम गर्न सके आगामी दिनमा पुनः प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने उनको भनाइ थियो।