काठमाडौं, जेठ २१ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र नेतृत्व र संरक्षक पक्षबीचको मतभेद खुला विवादमा परिणत भएको छ। पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वको सचिवालय बैठकले पार्टीका संरक्षक डा. बाबुराम भट्टराईप्रति खेद प्रस्ताव पारित गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको हो।
सचिवालय बैठकले डा. भट्टराईले पार्टी नेतृत्वमाथि गरेको टिप्पणीलाई अराजक र अनुचित ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। पार्टीले यसअघि भट्टराईले संगठनात्मक जिम्मेवारीबाट अलग रहने जानकारी दिएपछि सम्मानपूर्वक विदाइ गरिएको जनाएको छ।
तर उक्त निर्णयप्रति बाबुराम पक्षले तीव्र असन्तुष्टि व्यक्त गरेको छ। भट्टराई निकट नेताहरूले सीमित व्यक्तिहरूको उपस्थितिमा गरिएको बैठकको निर्णयलाई पार्टीको आधिकारिक धारणा मान्न नसकिने बताएका छन्। उनीहरूले पार्टीका महत्वपूर्ण पदाधिकारी र जिम्मेवार नेताहरूलाई बेवास्ता गरेर जारी गरिएको वक्तव्य संगठनात्मक मर्यादाविपरीत भएको आरोप लगाएका छन्।
भट्टराई निकट नेता कृष्ण शर्माले पार्टी संरक्षकमाथि लक्षित टिप्पणीलाई गैरजिम्मेवार र राजनीतिक रूपमा अपरिपक्व कदमको संज्ञा दिएका छन्। उनका अनुसार पार्टीभित्र वैचारिक बहस स्वाभाविक भए पनि व्यक्तिगत आरोप लगाएर समस्या समाधान नहुने बताए।
अर्का नेता रोशन पोखरेलले पनि अध्यक्ष परियारमाथि प्रश्न उठाउँदै उनले यसअघि नै पार्टी छाडेको घोषणा गरिसकेको अवस्थामा अहिले पार्टीको आधिकारिक धारणा भन्दै वक्तव्य जारी गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्। यद्यपि परियारले आफू पार्टीमै रहेको दाबी गर्दै आएका छन्।
यसैबीच, सचिवालय बैठकले पार्टीको एकता महाधिवेशन आगामी असोज ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। साथै, विभिन्न वामपन्थी र प्रगतिशील शक्तिहरूसँग सहकार्य तथा एकताका लागि संवाद समिति गठन गरिएको छ।
प्रलोपाभित्रको पछिल्लो घटनाक्रमले पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष सार्वजनिक भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।
