गोरखा, जेठ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वगृहमन्त्री सुधन गुरुङले राजनीतिक दलहरूबीच सहकार्य र सहमतिका आधारमा देश विकासलाई अघि बढाउनुपर्ने बताएका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले प्रतिपक्षको भूमिका सरकारका कमजोरी औंल्याउनु भए पनि सकारात्मक र जनहितका काममा साथ दिनुपर्ने बताए। “राम्रो कामलाई सबैले समर्थन गर्नुपर्छ, केवल विरोधका लागि विरोध गर्नु उपयुक्त हुँदैन,” उनले भने।
गुरुङले रास्वपा देशमा सुशासन, विकास र जनअपेक्षा पूरा गर्ने उद्देश्यसहित राजनीतिक यात्रामा रहेको उल्लेख गरे। उनले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू पूरा गर्न निरन्तर प्रयासरत रहेको बताउँदै जनताले दिएको विश्वासलाई काममार्फत प्रमाणित गर्ने बताए।
निर्वाचन क्षेत्रका नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले छिट्टै सचिवालय स्थापना गरी जनतासँग प्रत्यक्ष समन्वय बढाइने जानकारी दिए।
जिल्लामा बजेट विनियोजनका विषयमा उठिरहेका गुनासोप्रति संकेत गर्दै गुरुङले विकासको सवालमा सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्ने धारणा राखे। आफ्नै क्षेत्रको मात्र नभई समग्र देशको आवश्यकता बुझेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
