काठमाडौं, असार १ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी फुट्ने चर्चा निराधार रहेको बताएका छन्। उनले एमालेभित्र आवश्यक पुनर्गठन हुने भए पनि त्यसले विभाजन निम्त्याउने अवस्था नरहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले एमालेलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्यका साथ पुनर्गठनको प्रक्रिया अघि बढ्ने उल्लेख गरेका छन्। उनले पार्टीभित्रको एकता कायम रहने र सबै नेता–कार्यकर्ताबीच सहकार्य अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।
‘पुनर्गठन हुनेछ, तर एमाले फुट्दैन। संगठनलाई नयाँ ऊर्जा र दिशा दिने काम हुनेछ,’ उनले भनेका छन्।
भट्टराईका अनुसार आगामी दिनमा पार्टीभित्रको सोच, व्यवहार र कार्यगत गतिशीलतामा सुधार आउनेछ। उनले सबै पक्षलाई धैर्य र विश्वासका साथ पार्टीको निर्णय प्रक्रियामा साथ दिन आग्रह समेत गरेका छन्।
