रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद


रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद
  • नवकिरण
  • अषाढ ५, २०८३

चितवन, असार ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनको उद्घाटनस्थल तयारीका क्रममा भरतपुर महानगरपालिकाको नगरप्रहरी परिचालन गरिएको विषयले महानगरको कार्यपालिका बैठकमा चर्चा र विवाद उत्पन्न गरेको छ। यस विषयमा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कमजोरी स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

महानगर स्रोतका अनुसार आइतबार हुने रास्वपाको महाधिवेशनका लागि भरतपुरस्थित गेष्ट हाउसको चौरमा सरसफाइ तथा संरचना व्यवस्थापन गर्न नगरप्रहरी परिचालन गरिएको थियो। नगरप्रहरीसँगै वातावरण शाखाका कर्मचारीहरू पनि फोहोर संकलन गर्ने उपकरण र सवारीसाधनसहित स्थलमा पुगेका थिए।

कार्यपालिका बैठकमा जनप्रतिनिधिहरूले राजनीतिक दलको कार्यक्रमका लागि महानगरका स्रोतसाधन र जनशक्ति प्रयोग गरिएको विषयमा आपत्ति जनाएका थिए। उनीहरूले स्थानीय सरकारको क्षेत्राधिकार र तटस्थतामाथि प्रश्न उठाउँदै यस्तो निर्णय कसको निर्देशनमा भएको हो भन्ने चासो व्यक्त गरेका थिए।

महानगरका प्रवक्ता परमेश्वर खनालका अनुसार छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतले उक्त निर्णयबारे पर्याप्त संवेदनशीलता नदेखाएको स्वीकार गर्दै माफी मागेका थिए। उनले भविष्यमा यस्ता विषयमा थप सावधानी अपनाइने प्रतिबद्धता पनि जनाएको बताइएको छ।

यद्यपि प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले भने नगरप्रहरीले महानगरभित्र जहाँ आवश्यक देखिन्छ त्यहाँ सरसफाइ तथा व्यवस्थापनसम्बन्धी काम गर्न सक्ने दाबी गरेका छन्। उनले आफूले प्रत्यक्ष रूपमा यस्तो निर्देशन दिएको कुरा भने अस्वीकार गरेका छन्।

यता नगरप्रहरी प्रमुख डीएसपी कृष्णहरी ढकालले भने प्रशासकीय अधिकृतकै निर्देशनमा नगरप्रहरी महाधिवेशनस्थल पुगेको बताएका छन्। विवाद चर्किएपछि नगरप्रहरीलाई तत्काल फिर्ता बोलाइएको र अब उक्त स्थलमा नपठाइने जानकारी पनि उनले दिएका छन्।

यसैबीच रास्वपाले महानगरसँग नगरप्रहरी वा अन्य सहयोगका लागि कुनै औपचारिक अनुरोध नगरेको स्पष्ट पारेको छ। पार्टीका केन्द्रीय सदस्य राजन गौतम तथा जिल्ला अध्यक्ष मिनीमाधव खनालले पनि पार्टीको तर्फबाट सरसफाइ वा व्यवस्थापन सहयोग मागिएको नभएको बताएका छन्।