रास्वपा महाधिवेशनमा नेकपाको प्रतिनिधित्व गर्दै वर्षमान पुन चितवन जाने


रास्वपा महाधिवेशनमा नेकपाको प्रतिनिधित्व गर्दै वर्षमान पुन चितवन जाने
  • नवकिरण
  • अषाढ ६, २०८३

काठमाडौं, असार ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन्। चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा पुनले नेकपाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ।

रास्वपाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पठाएको थियो। तर हालैको स्वास्थ्य समस्यापछि पूर्ण रूपमा स्वास्थ्यलाभ हुन बाँकी रहेकाले प्रचण्ड स्वयं उपस्थित हुन नसक्ने भएपछि उनको स्थानमा नेता पुनलाई पठाउने निर्णय गरिएको हो।

प्रचण्ड केही समयअघि निमोनिया र ज्वरोका कारण अस्पताल भर्ना भएका थिए। उपचारपछि उनी जेठ १८ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि शुक्रबार मात्रै उनी पार्टी मुख्यालयमा आयोजित सदस्यता नवीकरण अभियानको कार्यक्रममा सार्वजनिक रूपमा सहभागी भएका थिए।

नेता पुनले रास्वपाको महाधिवेशनमा नेकपाको शुभकामना सन्देश लिएर आइतबार बिहान चितवन पुग्ने जानकारी दिएका छन्। रास्वपाको यो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व, संगठन विस्तार र नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय हुने कार्यक्रमका रूपमा हेरिएको छ।