रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क हटाइयो, पहिले बुझाएको रकम फिर्ता लिन सकिने व्यवस्था


रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क हटाइयो, पहिले बुझाएको रकम फिर्ता लिन सकिने व्यवस्था
  • नवकिरण
  • अषाढ ९, २०८३

चितवन, असार ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको शुल्क अब नलाग्ने भएको छ। पार्टी सभापति रवि लामिछानेले प्रतिनिधि शुल्कबापत अनिवार्य रूपमा उठाइँदै आएको ५ हजार रुपैयाँ अब आवश्यक नरहेको भन्दै सम्बन्धित निकायलाई सो व्यवस्था खारेज गर्न निर्देशन दिएका छन्।

महाधिवेशनको कार्यक्रम अपेक्षाभन्दा केही लम्बिएको परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ। यसअघि शुल्क बुझाइसकेका प्रतिनिधिहरूले भने आर्थिक कठिनाइको अवस्था भएमा आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था मिलाइएको छ।

त्यसैगरी, महाधिवेशनका क्रममा चितवनमा रहेका प्रतिनिधिहरूलाई बसोबास, खानपिन तथा अन्य व्यवस्थापनमा कुनै समस्या भए सम्बन्धित व्यवस्थापन टोलीसँग सम्पर्क गर्न आग्रह गरिएको छ। सहभागीहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले आवश्यक समन्वय र सहजीकरण भइरहेको पनि पार्टीले जनाएको छ।

चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू संगठन सुदृढीकरण, नेतृत्व चयन तथा आगामी राजनीतिक दिशा निर्धारणसम्बन्धी छलफलमा सक्रिय छन्। कार्यक्रम लम्बिँदै जाँदा प्रतिनिधिहरूको व्यवस्थापन र बसाइको विषय पनि चर्चामा रहेको छ।