काठमाडौं, असार १४ – नेकपा नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउन वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन्। उनले राजनीतिक चुनौतीहरूको सामना गर्न सबै वामपन्थी दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खनालले लामो समयपछि दुई प्रमुख वामपन्थी दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिनु सकारात्मक संकेत भएको बताए।
उनले वर्तमान राजनीतिक अवस्था र समयको आवश्यकताले वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरिरहेको उल्लेख गर्दै आजकै दिनबाट एकताको अभियानलाई योजनाबद्ध र दीर्घकालीन रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
खनालले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर जनताको हित र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखी वामपन्थी एकताको नयाँ अध्याय सुरु गर्नुपर्ने बताएका छन्।
