काठमाडौं, असार १७ – राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण मागेको छ।
आयोगले बुधबार पत्राचार गर्दै बालबालिकालाई पार्टीको सदस्य बनाइएको हो वा होइन भन्नेबारे विस्तृत विवरण उपलब्ध गराउन रास्वपालाई आग्रह गरेको हो। सार्वजनिक रूपमा आएका समाचार तथा पार्टी महाधिवेशनसँग सम्बन्धित प्रतिवेदनमा बालबालिकालाई सदस्यता दिइएको उल्लेख भएपछि आयोगले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
आयोगका अनुसार यदि नाबालिगलाई राजनीतिक दलको सदस्यका रूपमा आबद्ध गरिएको पुष्टि भए त्यस्तो कार्य नेपालको प्रचलित कानुन र बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वविपरीत हुन सक्ने भएकाले तथ्य स्पष्ट पार्न आवश्यक देखिएको हो।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम रास्वपासँग यथाशीघ्र आवश्यक जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।
