काठमाडौँ, असार २० – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार धेरै समय टिक्न नसक्ने दाबी गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारभित्रै रहेका शक्तिहरूले अन्ततः त्यसलाई कमजोर बनाउने र सरकार आफैँ ढल्ने अवस्था आउने बताए।
उनले अहिलेको सरकार देखावटी आकर्षणका आधारमा बनेको टिप्पणी गर्दै त्यही आधारका कारण यसको निरन्तरता पनि लामो नहुने जिकिर गरे। यद्यपि सरकार आफैँ ढल्ने प्रतीक्षामा मात्र बस्न नहुने उल्लेख गर्दै त्यसो गर्दा देश र लोकतन्त्र दुवैमा गम्भीर असर पर्ने चेतावनी दिए।
ओलीले परिवर्तनका लागि सक्रिय पहल आवश्यक रहेको उल्लेख गर्दै सरकार परिवर्तनलाई केवल समयको भरमा छाड्न नहुने धारणा व्यक्त गरे।
