काठमाडौं, असार २२ — नेपाली कांग्रेसको संस्थापन इतर समूहले आफ्ना गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यसहित छुट्टै कार्यालय सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित कार्यक्रममा समूहका नेता तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यालयको उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटनसँगै बसेको बैठकमा खड्काले समूहको पछिल्लो अवस्थाबारे नेताहरूलाई जानकारी गराएका थिए। उनका अनुसार हाल शेखर कोइरालासहित १११ जना इतर समूहमा रहेका छन् र सोही आधारमा केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव अघि बढाइएको छ।
खड्काले सातबुँदे प्रस्तावको जवाफ उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको उल्लेख गर्दै त्यसपछि आफू र शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव आएको तर त्यसलाई स्वीकार नगरेको बताएका थिए। त्यसपछि थप छलफलको अपेक्षा गरिए पनि कुनै औपचारिक प्रतिक्रिया नआएको उनको भनाइ थियो।
उनले शीर्ष नेताको सदस्यता स्वतः नवीकरण हुने विषयमा सार्वजनिक भएको समाचारपछि कार्यकर्तामा अन्योल फैलिएको बताए। त्यसपछि सामाजिक सञ्जालमार्फत आफूले त्यसको खण्डन गरेपछि भ्रम हटेको उनले जानकारी दिए।
बैठकमा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको सहभागिता रहेको थियो। खड्काले अब लगातार केही दिन आन्तरिक छलफललाई निरन्तरता दिइने र साउन ६ गते बीपी जयन्ती विशेष कार्यक्रमका साथ मनाइने तयारी भइरहेको बताएका छन्।
