काठमाडौं, साउन १ – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएका छन्। केही दिनअघि बाथरुममा चिप्लिएर लड्दा उनको दायाँ हात भाँचिएको जानकारी प्राप्त भएको छ।
देउवानिकट स्रोतका अनुसार दुर्घटनापछि उनलाई तत्काल हङकङस्थित एक स्थानीय अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था स्थिर रहेकाले चिकित्सकले उनलाई अस्पतालबाट डिस्चार्ज गरेका छन्।
स्वास्थ्य उपचारकै क्रममा हङकङमा रहेका देउवा पछिल्लो समय सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका थिएनन्। सामाजिक सञ्जालमा भने उनी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हिँडडुल गरिरहेका भिडियोहरू समय–समयमा सार्वजनिक हुँदै आएका छन्।
देउवा गत १३ फागुनमा सिंगापुर पुगेका थिए। त्यसपछि थप स्वास्थ्य उपचारका लागि ७ चैत २०८२ मा उनी हङकङ गएका थिए।
हाल उनको स्वास्थ्यमा सुधार भइरहेको र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको निकट स्रोतले जनाएको छ।
