जनकपुरमा हर्क साम्पाङको भ्रमणअघि विवाद, जानकी मन्दिरबाट समर्थक लखेटिए


जनकपुरमा हर्क साम्पाङको भ्रमणअघि विवाद, जानकी मन्दिरबाट समर्थक लखेटिए
  • नवकिरण
  • श्रावण ५, २०८३

जनकपुरधाम, साउन ५ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको जनकपुर भ्रमणअघि जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ। साम्पाङको स्वागतका लागि पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई विरोध गर्ने समूहले अवरोध गरेपछि उनीहरू मन्दिर परिसरबाट फिर्ता भएका छन्।

मंगलबार साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न आउने कार्यक्रम सार्वजनिक भएपछि हिन्दु सम्राट सेनाले विरोध जनाएको थियो। उक्त समूहले साम्पाङका विगतका गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो।

सोही क्रममा मन्दिर परिसरमा दुवै पक्षबीच भनाभन र तनावको अवस्था देखिएको स्थानीय स्रोतले जनाएको छ। विवाद बढ्न सक्ने अवस्था देखिएपछि साम्पाङ पक्षका समर्थकहरू त्यहाँबाट हटेका हुन्।

घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै धार्मिक विषयलाई आधार बनाएर अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरेका छन्। उनले गाईको विषयलाई लिएर राजनीति गर्न खोजिएको आरोप पनि लगाएका छन्।

साम्पाङले अर्को स्टाटसमार्फत जनकपुरमा विवाद भएको उल्लेख गर्दै गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको गुनासो गरेका छन्। साथै आफ्ना कार्यकर्तालाई कुनै उक्साहटमा नपरी शान्तिपूर्ण र संयमित ढंगले अघि बढ्न आग्रह गरेका छन्।

जनकपुरधाममा मंगलबार श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ। घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको जनाइएको छ।