काठमाडौं, साउन १८ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तन र सरकार गठन–विघटनलाई राजनीतिक उपलब्धिको मापदण्ड बनाउनु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर कमजोरी भएको बताएका छन्।
सोमबार आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उनले लामो समय सरकार बनाउने, सरकार ढाल्ने र पदको राजनीतिमा केन्द्रित हुँदा पार्टी जनताको वास्तविक मुद्दाबाट टाढिएको स्वीकार गरे। उनले मजदुर, किसान तथा उत्पीडित समुदायसँगको सम्बन्ध क्रमशः कमजोर बन्दै गएको भन्दै त्यसले कम्युनिस्ट आन्दोलनको आधार नै प्रभावित भएको बताए।
उनका अनुसार शीर्ष नेतृत्व मन्त्री र प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामै व्यस्त रहँदा त्यही प्रवृत्ति प्रदेश र स्थानीय तहसम्म फैलियो। यसले संगठनभित्र सेवा र संघर्षको भावना कमजोर बनाउँदै कम्युनिस्ट आदर्शलाई ओझेलमा पारेको उनको भनाइ थियो।
प्रचण्डले नेताहरूको जीवनशैली पनि जनविश्वास घट्नुको अर्को कारण बनेको उल्लेख गरे। राजधानी र सदरमुकाम केन्द्रित जीवनशैलीले जनतालाई नेतृत्व आफ्नो जस्तो नलागेको भन्दै उनले व्यवहार र जीवनशैलीमा परिवर्तन नगरेसम्म पार्टीप्रतिको विश्वास पुनः स्थापित गर्न कठिन हुने बताए।
आफ्ना विगतका कमजोरी स्वीकार्दै प्रचण्डले अब जनतासँगको प्रत्यक्ष सम्बन्ध सुदृढ गर्ने, संगठनलाई जीवन्त बनाउने र कम्युनिस्ट मूल्य–मान्यतालाई व्यवहारमा उतार्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
