देउवा नेपाल फर्किने मिति फेरियो, साउन २८ गते दिउँसो काठमाडौं आइपुग्ने


देउवा नेपाल फर्किने मिति फेरियो, साउन २८ गते दिउँसो काठमाडौं आइपुग्ने
  • नवकिरण
  • श्रावण २३, २०८३

काठमाडौं, साउन २३ – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने कार्यक्रम परिवर्तन भएको छ। यसअघि साउन २६ गते राति काठमाडौं आउने भनिए पनि अब उनी साउन २८ गते दिउँसो नेपाल आइपुग्ने भएका छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आगामी बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम तय भएको छ। उनी थाई एयरको उडानमार्फत नेपाल फर्किने बताइएको छ।

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले पनि देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको पुष्टि गरेका छन्। उनका अनुसार यसअघि तय भएको उडान रातिको भएकाले स्वागतका लागि असहज हुने भन्दै समय परिवर्तन गर्न आग्रह गरिएको थियो।

‘फ्लाइट २६ गते राति थियो । राति नआउनुस्, हामीले स्वागत गर्न पाउनुपर्‍यो भन्यौं,’ विश्वकर्माले भनेका छन्, ‘त्यसपछि डेट सरेको हो । समय पनि दिउँसो भयो।’

यसअघि देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने जानकारी सार्वजनिक गरिएको थियो। तर, कांग्रेस नेताहरूको आग्रहपछि उनको नेपाल फर्किने मिति र समय दुवै परिवर्तन गरिएको हो।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि विदेश गएका थिए। उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर पुगेका थिए भने त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा हङकङ पुगेका थिए।

यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ। भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ।