काठमाडौं, साउन २४ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका क्रममा आफू कुनै डर, धम्की वा प्रलोभनबाट प्रभावित नहुने बताएका छन्। उनले कांग्रेसको विधान र पार्टीको प्रक्रियाबारे आफू स्पष्ट रहेको भन्दै आफ्नो निर्णयबाट पछि नहट्ने बताए।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले विशेष महाधिवेशन विधानअनुसार नै भएको दाबी गरे। निर्वाचन आयोगले समेत विशेष महाधिवेशनलाई सदर गरिसकेको भन्दै सर्वोच्च अदालतको पुनरवलोकन आदेशबाट कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
उनले सर्वोच्चको आदेशलाई कानुनी प्रक्रियामार्फत सामना गर्ने बताए। साथै, शेरबहादुर देउवा पक्षलाई समेत समेटेर निष्पक्ष महाधिवेशन गर्न आफू तयार रहेको स्पष्ट पारे।
विशेष महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तालाई समेत पार्टी नेतृत्वको पक्षमा उभिन आग्रह गर्दै थापाले कांग्रेसमा कसैलाई पनि पहिलो वा दोस्रो दर्जाको व्यवहार नगरिने बताए।
पार्टीको आन्तरिक विवाद अब राजनीतिक विषयसँगै कानुनी र न्यायिक प्रक्रियामा समेत प्रवेश गरेको थापाले बताए। देशको राजनीतिक अवस्थाप्रति नागरिकमा अझै अन्योल र असन्तुष्टि रहेको उनको भनाइ थियो।
दलहरूले जनताको असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा अहिलेको अवस्था आएको थापाले बताए। नागरिकमा निराशा बढिरहेका बेला कांग्रेस मौन भएर नबस्ने भन्दै उनले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए।
सरकारले संविधान र विधिको सीमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै थापाले कार्यपालिका, न्यायपालिका र संसद्माथि हाबी हुने प्रयासको विरोध गरे। मन्त्रीहरूको सम्पत्ति छानबिनको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा प्रश्न उठाउँदै उनले अख्तियारजस्ता स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोपसमेत लगाए।
