काठमाडौं, साउन २६ – डा. धवलशमशेर राणाको नेतृत्वमा गठन भएको जय नेपाल पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने मिति सारेको छ। यसअघि साउन २८ गते दर्ता गर्ने तयारी भए पनि आवश्यक आन्तरिक तयारी पूरा नभएकाले निर्धारित समय पछि सारिएको हो।
पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईंले पार्टी गठन र दर्ताका लागि गर्नुपर्ने केही काम बाँकी रहेकाले समय थपिएको बताएका छन्। उनका अनुसार अहिले संगठन विस्तार, पार्टीको संरचना तथा अन्य आवश्यक विषयमा छलफल भइरहेको छ।
पार्टीभित्र भने नेतृत्वबीच अधिकार बाँडफाँटको विषयमा समेत छलफल भइरहेको बताइएको छ। विशेषगरी आगामी निर्वाचनमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषयमा सहमति जुटाउनुपर्ने अवस्था रहेको एक नेताले बताएका छन्।
विधान मस्यौदा समितिका संयोजक माधव कल्पितले भने सभापति राणा र सर्वोच्च नेता प्रसाईं दुवैले उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने स्पष्ट पारेका छन्। उनले यसलाई ठूलो विवाद नभई प्राविधिक विषय भएको बताएका छन्।
उनका अनुसार साउन २८ गते दल दर्ताका लागि उपयुक्त समय नदेखिनुका साथै प्रस्तावित केही केन्द्रीय सदस्य काठमाडौं बाहिर रहेकाले पनि मिति सारिएको हो। पार्टीले भदौको पहिलो साताभित्र निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ।
प्रस्तावित विधानअनुसार जय नेपाल पार्टीको केन्द्रीय कमिटी ३१९ सदस्यीय हुनेछ। दल दर्ताका क्रममा १०१ जना केन्द्रीय सदस्यको नाम बुझाइनेछ भने ३१ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। केन्द्रीय कमिटीमा राणा पक्ष र प्रसाईं पक्षबाट ४०–४० प्रतिशत तथा अन्य पक्षबाट २० प्रतिशत प्रतिनिधित्व गराउने तयारी गरिएको छ।
