काठमाडौं, साउन २९ – नयाँ राजनीतिक दल गठनका लागि एकजुट भएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको सहकार्य दुई महिनामै टुंगिएको छ। राणा समूहले ‘जय नेपाल पार्टी’ दर्ताको तयारी अघि बढाउँदा प्रसाईं समूहले छुट्टै दल गठन गर्ने तयारी थालेको हो।
दुवै पक्षबीच राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी पार्टी बनाउने सहमति भएको थियो। तर पार्टीमा कसको वरीयता माथि रहने र कार्यकारी अधिकार कसरी बाँड्ने भन्ने विषयमा विवाद बढेपछि सहकार्यमा दरार आएको हो।
प्रसाईंले आफूलाई पार्टीको पहिलो वरीयतामा राख्नुपर्ने तथा कार्यकारी अधिकारमा समेत आफ्नो भूमिका हुनुपर्ने माग राखेका थिए। राणा पक्ष त्यसमा सहमत नभएपछि विवाद थप चर्किएको बताइएको छ।
प्रसाईं पक्षका नेता माधव कल्पितले आफूहरू एकताकै पक्षमा रहे पनि राणा पक्षले तत्कालै पार्टी दर्ता गर्न खोजेपछि अलग हुनुपर्ने अवस्था आएको बताएका छन्। अब प्रसाईंको नेतृत्वमा नयाँ पार्टी बन्ने उनको भनाइ छ।
प्रसाईंले सामाजिक सञ्जालमार्फत पनि नयाँ दल गठनको संकेत गर्दै केही समय धैर्य गर्न समर्थकलाई आग्रह गरेका छन्। उनले प्रस्तावित पार्टीलाई सबै नेपाली नागरिकको साझा राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्।
यसअघि दुवै पक्ष मिलेर १०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी थियो। तर सहमति भंग भएपछि राणा पक्षले आफ्नै समूहका नेताहरू समेटेर कमिटी बनाएको बताइएको छ। यता राणा पक्षले भने प्रसाईं समूहसँग संवाद अझै जारी रहेको दाबी गरेको छ।
