काठमाडौं, फागुन १२ – नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्टमा समस्या देखिनुका साथै एमसिएलमा गम्भीर चोट लागेपछि साम्बा पुनः जटिल शल्यक्रियाको तयारीमा छिन्। उनको उपचारमा सघाउ पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गर्दै पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोहीअनुसार एन्फाको खातामा रकम जम्मा गरिएको जनाइएको छ।
यसैबीच, कांग्रेसका सभापति गगनकुमार थापाले साम्बाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उकास्न खेलेको भूमिकाको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले खेलाडीलाई यस्ता कठिन घडीमा सबै पक्षबाट साथ र सहयोग आवश्यक रहने उल्लेख गरेका छन्।
कांग्रेसले खेलकुद क्षेत्रलाई केवल मनोरञ्जनको माध्यम नभई राष्ट्रिय पहिचान र युवा शक्तिको सशक्त आधारका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ।
