काठमाडौं, जेठ २४ – भरतपुर क्रिकेट रंगशाला निर्माणसँग सम्बन्धित करिब १८ करोड ४३ लाख रुपैयाँ ऋणको विषयलाई लिएर अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’ नेपाल फर्किएका छन्। उनले उक्त विषयमा संघीय सरकार तथा भरतपुर महानगरपालिकासँग छलफल गरी समाधान खोज्ने बताएका छन्।
रातोपाटीसँगको कुराकानीमा कट्टेलले आफूले गरेको सम्पूर्ण निर्माण कार्य राष्ट्रहितका लागि भएको दाबी गर्दै ती कामहरू पारदर्शी र अनुमानित बजेटभन्दा कम खर्चमा सम्पन्न भएको स्पष्ट पारे। उनले विगतमा पनि सम्बन्धित निकायहरूमा लामो समयसम्म पहल गरे पनि न्याय नपाएको गुनासो व्यक्त गरे।
हालको परिस्थितिमा नयाँ राजनीतिक नेतृत्वबाट समाधानको अपेक्षा रहेको बताउँदै उनले प्रधानमन्त्रीसँग भेट गरी आफ्ना कुरा विस्तृत रूपमा राख्ने योजना रहेको जानकारी दिए। उनका अनुसार रंगशाला निर्माणमा संलग्न निर्माण व्यवसायीहरू समेत न्यायको प्रतीक्षामा छन्।
धुर्मुसले आफू अमेरिकामा स्थायी रूपमा बस्ने चर्चा अस्वीकार गर्दै नेपाल फर्किनुको मुख्य कारण पारिवारिक र छोरीको स्वास्थ्य उपचार रहेको स्पष्ट पारे। उनले आफू कलाकारिता र देशले दिएको पहिचानप्रति सधैं कृतज्ञ रहने उल्लेख गर्दै भविष्यमा पनि नेपालमै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
