जर्मनीविरुद्धको ऐतिहासिक जितको उल्लास, पाराग्वेमा देशभर सार्वजनिक बिदा


जर्मनीविरुद्धको ऐतिहासिक जितको उल्लास, पाराग्वेमा देशभर सार्वजनिक बिदा
  • नवकिरण
  • अषाढ १६, २०८३

फक्सबरो, असार १६ – विश्वकपमा शक्तिशाली जर्मनीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेपछि पाराग्वे उत्सवमय बनेको छ। राष्ट्रिय टोलीको ऐतिहासिक सफलताको खुसी साट्न राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा पाराग्वेले ४–३ को जित निकाल्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भयो। विश्व फुटबलमा यो नतिजालाई यस संस्करणको सबैभन्दा ठूलो उलटफेरमध्ये एकका रूपमा हेरिएको छ।

जितपछि राष्ट्रपति पेनाले सामाजिक सञ्जाल एक्समार्फत बिदासम्बन्धी निर्णय सार्वजनिक गर्दै यो सफलता सम्पूर्ण पाराग्वेली नागरिकको साहस, एकता र अटल आत्मविश्वासको प्रतीक भएको बताएका छन्। उनले यो जितले देशलाई एकसूत्रमा बाँध्ने गौरवपूर्ण क्षण सिर्जना गरेको उल्लेख गरेका छन्।

सरकारले जारी गरेको आधिकारिक आदेशमा यो उपलब्धि खेलकुदको सीमाभन्दा माथि उठेर राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्दै नागरिकलाई स्वतन्त्र रूपमा उत्सव मनाउने अवसर प्रदान गर्न सार्वजनिक बिदा घोषणा गरिएको जनाइएको छ।

विश्वकपमा जर्मनीलाई हराएपछि सार्वजनिक बिदा घोषणा गर्ने पाराग्वे दोस्रो दक्षिण अमेरिकी राष्ट्र बनेको छ। यसअघि समूह चरणमा जर्मनीमाथि २–१ को जित हात पारेपछि इक्वेडरले पनि यस्तै निर्णय गरेको थियो।