काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्व डीआईजी छविलाल जोशीको रिट निवेदन बिहीबार पनि ‘हेर्दा हेर्दैमा’ राखिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको भए पनि बुधबार संवैधानिक इजलास परेकाले सुनुवाइ रोकिएको थियो।
बिहीबारको सुनुवाइमा रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरे। त्यसपछि पूर्व डीआईजी जोशीका कानुन व्यवसायीले आफ्नो पक्ष प्रस्तुत गरे।
सरकारी पक्षबाट भने बिहीबार गोविन्द खनाल, लोकराज पराजुली लगायतका सरकारी वकिलहरूले बहस प्रस्तुत गरेका छन्। भोलि सरकारी पक्षको बहस सकिएपछि पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि जवाफी बहस सुरू हुने जानकारी प्राप्त भएको छ।