काठमाडौँ, जेठ १० – संघीय राजधानी काठमाडौँ प्रवेशको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड आजदेखि हरेक दिन साढे चार घण्टा बन्द हुने भएको छ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) अन्तर्गतको निर्माण कार्यका लागि उक्त सडक बन्द गरिएको हो।
आयोजना अनुसार सडक आज जेठ १० गतेदेखि जेठ २५ गतेसम्म हरेक दिन बिहान १०ः३० बजेबाट अपराह्न ३ः०० बजेसम्म बन्द गरिनेछ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनको समन्वयमा उक्त निर्णय गरिएको जानकारी दिए। आयोजनाले नागढुङ्गा–पिपलामोड सडकखण्ड निर्माण गर्नुपर्ने भएकाले अस्थायी रुपमा सडक बन्द गर्नु परेको जनाएको छ।
निर्माण कार्यका क्रममा काठमाडौँबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारी साधनलाई खानीखोलामा रोकिने व्यवस्था मिलाइएको छ।
यातायातका लागि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। प्रहरीले यात्रुहरूलाई धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
योजना कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ।