रास्वपाको अवरोध कायम रहने अडान, सभामुखको जवाफ– संसद् अब रोकिंदैन


रास्वपाको अवरोध कायम रहने अडान, सभामुखको जवाफ– संसद् अब रोकिंदैन
  • नवकिरण
  • अषाढ २, २०८२

काठमाडौं, असार २ – प्रतिनिधिसभामा जारी अवरोध तत्काल नहट्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट पारेको छ।

सोमबार बिहान संसद् बैठक बस्नुअघि रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुख देवराज घिमिरेलाई भेटेर औपचारिक रूपमा अवरोध जारी रहने जानकारी गराएका हुन्।

सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा रास्वपाका नेताहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामासहित संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्ना पुरानै माग दोहोर्‍याए। उनीहरूले माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध रहन बाध्य हुने बताए।

सभामुख घिमिरेले विपक्षीले उठाएका विषय गम्भीर भएको स्वीकार गर्दै पनि अब संसद अवरुद्ध राख्ने अवस्था नरहेको बताए। सभामुखको सचिवालयका अनुसार उनले भने, “दुई सातादेखि संसद बन्धक अवस्थामा छ। बजेटमाथि विस्तृत छलफल गर्नुपर्ने संवैधानिक बाध्यता छ। अब संसद चलाउनैपर्छ।”

सभामुखले राष्ट्रिय सभाले असार ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको स्मरण गराउँदै जुनसुकै अवस्थामा बजेट पारित गर्नु अपरिहार्य भएको उल्लेख गरे। “तपाईंहरूको आन्दोलनको स्वरुप फेरिएर संवैधानिक जिम्मेवारी बुझ्न जरुरी छ। सरकारसँग संवादका लागि म सहजीकरण गर्न तयार छु,” सभामुखले आग्रह गरे।

तर रास्वपाका नेताहरूले माग गम्भीर र जनतासँग प्रत्यक्ष जोडिएका भएकाले संघर्ष नरोकिने अडान दोहोर्‍याए। “हामी अहिलेको अवस्थामा मुद्दाबाट पछाडि फर्कन सक्दैनौं,” नेताद्वय अर्याल र परियारले सभामुखलाई भने, “तर समाधानका लागि संवाद र छलफल गर्न तयार छौं।”

सभामुखसँगको भेटपछि पनि रास्वपाले संसद् बैठकमा अवरोध जारी राख्ने निर्णयमै अडिग रहेको बताएको छ। यता, सभामुखको भनाइ छ– अब संसद चलाउनुपर्छ, किनभने यो जनताको अपेक्षा, संविधानको आदेश र समयको माग हो।