काठमाडौं, असार १९ – साइबर अपराध मुद्दामा पेश भएका पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका पाठकमाथि थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टराईको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।
नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार पाठकमाथि युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा असार १६ गते साइबर अपराध मुद्दा दायर गरेको थियो। विशेषगरी काठमाडौंस्थित हिल्टन होटलसम्बन्धी एक भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडेर सार्वजनिक सामग्री प्रसारण गरेको भन्दै उजुरी परेको थियो।
यसअघि असार ५ गते उच्च अदालतले उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसपछि प्रहरीले पक्राउ नगरीकनै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
अदालतले जारी गरेको आदेशमा घटनाको विस्तृत विवरण भने उल्लेख गरिएको छैन।