अडियो प्रकरणको चपेटामा मन्त्री गुप्ताको राजीनामा


अडियो प्रकरणको चपेटामा मन्त्री गुप्ताको राजीनामा
  • नवकिरण
  • अषाढ ३१, २०८२

काठमाडौँ, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अन्ततः राजीनामा दिन बाध्य भएका छन्। ७८ लाख रुपैयाँ घुस लेनदेनको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेका गुप्ताले मंगलबार बिहान प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

गुप्तामाथि सरकारी कर्मचारीको सरुवा र नियुक्तिमा अवैध लेनदेन भएको आरोप लागिरहेको छ। सार्वजनिक भएको अडियोमा सरुवासम्बन्धी मिलेमतो र बार्गेनिङका कुरा बाहिरिएपछि उनी विवादमा तानिएका थिए।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै गुप्ताले आफू निर्दोष भएको दाबी गरेका छन्। उनले लेखेका छन्, “नखाएको विष पनि कहिलेकाहीँ लाग्दो रहेछ, अहिले म त्यसैको सिकार भएको छु।” उनले आफूलाई प्रविधिको माध्यमबाट जानीजानी फसाइएको आरोप समेत लगाएका छन्।

“सत्य बाहिर ल्याउन अनुसन्धान सहज होस् भनेर मैले पदबाट राजीनामा दिएको हुँ,” गुप्ताले स्पष्ट पारेका छन्। साथै, उनले अब पार्टीको जिम्मेवारी अझ इमानदारीपूर्वक पुरा गर्ने बताएका छन्।

गुप्ताको राजीनामा सँगै सरकारभित्रको पारदर्शिता, नैतिकता र जवाफदेहिताको बहस फेरि एकपटक चर्किएको छ।