रास्वपाले साउन ५ गतेदेखि घरदैलो हस्ताक्षर अभियान सुरु गर्ने, हालसम्म २५ लाख हस्ताक्षर संकलन


रास्वपाले साउन ५ गतेदेखि घरदैलो हस्ताक्षर अभियान सुरु गर्ने, हालसम्म २५ लाख हस्ताक्षर संकलन
  • नवकिरण
  • श्रावण १, २०८२

काठमाडौं, साउन १ – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा सुरु गरिएको हस्ताक्षर संकलन अभियानले हालसम्म करिब २५ लाख हस्ताक्षर प्राप्त गरेको छ।

रास्वपाले बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अभियानको प्रगति विवरण सार्वजनिक गरेको हो।

अभियान संयोजक दीपक बोहराका अनुसार साउन ५ गतेदेखि वडा–वडामा पुगेर घरदैलो हस्ताक्षर अभियान सञ्चालन गरिनेछ। उनका अनुसार हालसम्म देश तथा विदेशबाट करिब २४ लाख ५७ हजार ६१८ हस्ताक्षर प्राप्त भइसकेको छ।

रास्वपाले लामिछानेलाई पूर्वाग्रही ढंगले थुनिएको भन्दै असार ७ गतेबाट अभियान सुरु गरेको थियो। “राजनीतिक प्रतिशोध स्वरूप रविलाई थुनामा राखिएको छ,” बोहराले भने, “त्यसको विरोधमा हामीले जनदबाब सिर्जना गर्न अभियान चलाएका हौं।”

पार्टीका अनुसार हालसम्म पाँच लाख अपिल नागरिकमा वितरण गरिएको छ भने दुई लाखले फारम भरेर फर्काएका छन्। अभियानमा हालसम्म करिब ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको समेत जानकारी दिइएको छ।

रास्वपाले हस्ताक्षर संकलनलाई थप सशक्त बनाउने र जनस्तरसम्म लैजाने उद्देश्यले अब वडास्तरमा पुगेर जनताको साथ जुटाउने रणनीति बनाएको छ।