विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता


विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता
  • नवकिरण
  • श्रावण ४, २०८२

काठमाडौं, साउन ४ – वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको पुरानो आदेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको छ।

निर्देशनालयले साउन १ गते निर्वाचन आयोगलाई पत्र पठाउँदै २०७४ चैत ७ मा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न आग्रह गरेको हो। सो आदेशमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी तथा आवश्यक पूर्वाधार निर्माण गर्न भनिएको थियो। तर लामो समय बितिसक्दा पनि सो आदेश कार्यान्वयन नभएको भन्दै निर्देशनालयले पुनः ध्यानाकर्षण गराएको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यसअघि नै आयोगले ऐन संशोधनको प्रस्ताव तयार पारेर गृहमन्त्रालयमा पठाइसकेको छ। ‘अब निर्देशनालयको ताकेतापछि पुनः गृहमन्त्रालयलाई जानकारी दिने प्रक्रिया अघि बढ्नेछ,’ घिमिरेले बताए।

निर्वाचन आयोगले विदेशबाट पनि मतदान गर्न सकिने कानुनी व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएपनि यो विषय अझै अलपत्र रहेको छ। विदेशमा रहेका लाखौं नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा पटक–पटक बहस हुँदै आएको भए पनि अहिलेसम्म कुनै ठोस कार्यान्वयन भएको छैन।

अब निर्देशनालयको पछिल्लो पहलले यस मुद्दामा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।