भीम रावलको ओलीमाथि व्यङ्ग्य : “सुतेको समय पनि घटाउने कि ?”


भीम रावलको ओलीमाथि व्यङ्ग्य : “सुतेको समय पनि घटाउने कि ?”
  • नवकिरण
  • श्रावण ५, २०८२

काठमाडौं, साउन ५ – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको ७० वर्षे उमेर सीमा हटाउने प्रस्तावलाई लिएर पार्टीभित्रै आलोचना सुरु भएको छ। सोही प्रस्तावप्रति एमालेका वरिष्ठ नेता भीम रावलले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

प्रधानमन्त्री समेत भइसकेका ओलीले पार्टीको आन्तरिक बैठकमा “यदि उमेर हद तोक्नैपर्छ भने, आफू जेलमा बिताएको समय घटाएर गणना गर्नुपर्छ” भन्ने तर्क अघि सारेका थिए। यसै सन्दर्भमा रावलले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै सोधे– “अब त पार्टीमा सुतेको समय, बाल्यकाल र बिरामी भएर काम नगरेको समयसमेत घटाउने कार्यदल बनाउने कि?”

रावलले लेखेका छन्, “७० वर्षे उमेर हद हटाउने विषयमा छलफल चलिरहेका बेला ओलीले झ्यालखानामा बिताएको समय घटाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन्। पद र शक्तिप्रतिको अतृप्त चाहना शान्त पार्न अब त राजनीतिमा प्रवेश गर्नुअघिको बाल्यकाल पनि गणनाबाट हटाउने ?”

एमालेभित्र नेताहरूबीच नेतृत्व परिवर्तन, उमेर सीमा र आन्तरिक लोकतन्त्रका विषयमा चर्को बहस चलिरहेको छ। भीम रावल ओलीसँगको विवादका कारण केही समय पार्टीबाट अलग भएका थिए, तर पुनः सक्रिय भई अहिलेको नेतृत्वप्रति खुलेर आलोचना गर्दै आएका छन्।