काठमाडौं, साउन १० – गाजामा मानविय संकट दिनप्रतिदिन गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (WFP) ले एक तिहाइभन्दा बढी गाजाली केही दिनदेखि खानाविहीन रहेको भन्दै गम्भीर चेतावनी दिएको छ।
डब्लुएफपीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गाजामा कुपोषणको दर उच्च बन्दै गएको छ र कम्तीमा ९० हजार महिला र बालबालिकालाई तत्काल उपचार आवश्यक छ।”
यसैबीच, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार कुपोषणका कारण थप ९ जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार इजरायलसँगको युद्ध सुरु भएयता गाजामा कुपोषणका कारण ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ।
मानव अधिकार संस्थाहरूले गाजामा अनिकाल अझ भयावह बन्दै गएको जनाएका छन्। तर इजरायलले भने गाजामा मानवीय सहायता पुर्याउन कुनै अवरोध नगरेको दाबी गरेको छ। उल्टै उसले गाजामा भइरहेको संकटका लागि हमासलाई जिम्मेवार ठहर गरेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ अक्टोबर ७ यता इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाउनेको संख्या ५९ हजार नाघिसकेको छ।
गाजामा हालको संकट मानव सभ्यताको नाममा लज्जास्पद बन्दै गएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले युद्धबिराम र सहयोग पहुँचको माग गर्दै आएका छन्।