बुटवल, साउन ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौं सारिने भएको छ।
बुटवलस्थित सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेलाई सुरक्षा कारण देखाउँदै राजधानी लैजान लागिएको हो।
लामिछानेले यसअघि नै नख्खु कारागारमा सरुवा गर्न निवेदन दिएका थिए। अदालतले समेत स्वीकृति प्रदान गरे पनि गृह प्रशासनले रोक्दै आएको थियो। तर, केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागार निरीक्षण गर्दा उनले भैरहवामा आफ्नो सुरक्षाप्रति आशंका व्यक्त गरेपछि सरकारले काठमाडौं सार्ने तयारी गरेको हो।
कारागार विभागका अनुसार आज दिउँसो ३:१० बजे बुद्ध एअरको विमानमार्फत उनलाई काठमाडौं लैजाने कार्यक्रम तय भएको छ।