काठमाडौं, भदौ १ – विदेश जाने यात्रुहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन (इमिग्रेशन) जाँचमा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्ने भएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पछिल्लो समय राति विशेषगरी खाडी मुलुकतर्फ जाने उडानमा यात्रुको चाप बढ्दा कागजात परीक्षणमा कठिनाइ भएको पाइएपछि यस्तो व्यवस्था गरिएको हो।
‘अन्तिम समयमा यात्रु बढी भएपछि अध्यागमन अधिकृतले समेत छिटोछिटो चेकजाँच गर्नुपर्ने समस्या आएको छ,’ तिवारीले बताए, ‘यसलाई व्यवस्थित बनाउन अब यात्रुहरूलाई कम्तीमा एक घण्टा अगाडि आउन भनिएको हो।’
यसअघि शुक्रबार अध्यागमन विभागले एयरलाइन्स कम्पनी र सरोकारवालासँग छलफल गरी नयाँ नियम लागू गर्ने निर्णय गरेको हो। विभागले नागरिक उड्डयन प्राधिकरणलाई समेत रातिको भीड व्यवस्थापन गर्न उडान तालिका लचिलो बनाउन अनुरोध गरेको छ।
त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकृत र कर्मचारीको मिलेमतोमा भिजिट भिसामा युवालाई असुली गरेर पठाउने गिरोह सक्रिय रहेको विषयमा अख्तियारले छानबिन गरिरहेको छ। यसै क्रममा तत्कालीन प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि नेतृत्वमा नयाँ टोली पठाइएको थियो।
यद्यपि, अवैध असुली र दुरुपयोग रोक्ने प्रयत्न जारी भए पनि भिजिट भिसामा युवालाई विदेश पठाउने क्रम अझै पूर्णरूपमा रोकिएको छैन।