संसद भवनमा ३२ जना मृत भेटिएको खबर गलत : प्रहरी


संसद भवनमा ३२ जना मृत भेटिएको खबर गलत : प्रहरी
  • नवकिरण
  • भाद्र २५, २०८२

काठमाडौं, भदौ २५ – जेनजी आन्दोलनसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको ‘संसद भवनभित्र ३२ जना मृत फेला’ भन्ने दाबीको खण्डन नेपाल प्रहरीले गरेको छ । प्रहरीका अनुसार सो समाचार पूर्णतया गलत र भ्रामक छ ।

बुधबार जारी विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयले अन्य देशमा भएको पुरानो हिंसात्मक घटनाका तस्बिर प्रयोग गरी भ्रम फैलाउने काम भइरहेको जनाएको छ । यसले जनमानसमा अनावश्यक त्रास सिर्जना गर्ने भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस्तै, प्रहरीले अशान्त परिस्थिति भड्काउने किसिमका असत्य समाचार वा तस्बिर नफैलाउन सबैमा आग्रह गर्दै वास्तविक जानकारीका लागि आधिकारिक निकायलाई विश्वास गर्न अनुरोध गरेको छ ।