जेनजी आन्दोलनमा गोरखाका तीन युवा सहिद


जेनजी आन्दोलनमा गोरखाका तीन युवा सहिद
  • नवकिरण
  • भाद्र २६, २०८२

गोरखा, भदौ २६ – राजधानीमा जारी जेनजी आन्दोलनका क्रममा गोरखाका तीन युवाले ज्यान गुमाएका छन्। सोमबारदेखि सुरु भएको आन्दोलनमा देशभर ३० भन्दा बढीको मृत्यु भएकोमा गोरखाका तीन जना पनि सहिद बनेका हुन्।

बारपाक सुलीकोट-५ नारेश्वरडाँडाका २२ वर्षीय विमल भट्ट संसद् भवन अगाडि प्रदर्शनकै क्रममा गोली लागेर ढलेका थिए। आफन्त सुजन भट्टका अनुसार दिउँसो साढे ३ बजेतिर निधारमा गोली लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। उनका अनुसार भट्ट काठमाडौंमा उच्च अध्ययन गरिरहेका थिए।

त्यसैगरी, गण्डकी गाउँपालिका-४ ढाबाका २३ वर्षीय अर्जुन भट्ट पनि सोमबारै थापाथलीमा भएको प्रदर्शनमा टाउकामा गोली लागेर निधन भएका छन्। वडाध्यक्ष राजु भण्डारीका अनुसार दुई वर्ष दुबईमा काम गरेर एक महिनाअघि मात्र स्वदेश फर्केका अर्जुन हाल जापानी भाषा अध्ययन गरिरहेका थिए।

यस्तै मंगलबार दिउँसो २:३० बजेतिर महाराजगञ्ज प्रहरी चौकी नजिकै भएको भिडन्तमा पालुङ्टार-३ बर्देडाँडाका करिब ४० वर्षीय रमेश पराजुली मारिएका छन्। काठमाडौंको तारकेश्वर-१ साङ्लाफाँटमा व्यवसाय गर्दै आएका पराजुलीको छातीमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको पत्रकार विनोद श्रेष्ठ क्रान्तिले जानकारी दिएका छन्।