देउवा दम्पतीमाथि आक्रमणपछि अझै उपचारमा, कम्तिमा एक हप्ता अस्पतालमै बस्ने


देउवा दम्पतीमाथि आक्रमणपछि अझै उपचारमा, कम्तिमा एक हप्ता अस्पतालमै बस्ने
  • नवकिरण
  • भाद्र ३०, २०८२

काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा हालसम्म अस्पतालमै उपचाररत छन्। उनीहरूलाई भएको चोट गम्भीर भएकाले चिकित्सकहरूले अझै एक साताभन्दा बढी अस्पतालमै राख्नुपर्ने देखिएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरू देउवाको बूढानीलकण्ठस्थित निवासमै पसेर दम्पतीमाथि कुटपिट गरेका थिए। सामाजिक सञ्जालमा भाइरल बनेका भिडियोहरूमा प्रदर्शनकारीहरूले देउवा र आरजुलाई घरभित्रै लछारपछार गर्दै आँगनसम्म पुर्‍याएको देखिन्छ। त्यस क्रममा आरजु राणा भुइँमा लडेको र देउवाको गर्दन तथा ढाडमा गहिरो चोट लागेको पुष्टि भएको छ।

निकट स्रोतका अनुसार देउवाको गर्दनमा धारिलो हतियार वा सिसाले प्रहार गरेजस्तो चोट छ भने आरजुको अनुहारमा निलडाम र अन्य भागमा समेत चोट पुगेको छ। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको तर भेटघाटमा कडाइ गरिएको स्रोतले बताएको छ।

आक्रमणको दिन सुरक्षाकर्मीले भिड नियन्त्रण गर्न नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत देउवा दम्पतीलाई उद्धार गरिएको थियो। त्यसबेला घरमा रहेका नगद र सम्पत्ति समेत जलेको दृश्य सार्वजनिक भएको छ।

नेपाली कांग्रेसका नेताहरूले सभापति देउवासँग प्रत्यक्ष भेट गर्न पाएका छैनन्। उपसभापति पूर्णबहादुर खड्काले फोनमार्फत मात्र कुरा भएको र स्वास्थ्य अवस्था क्रमशः सामान्यतर्फ गएको जानकारी पाएको बताएका छन्।

७९ वर्षीय शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका नेता हुन् भने ६३ वर्षीया आरजु राणा हालैसम्म परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन्।