शीतल निवासमा असन्तुष्ट जेनजीहरूको नाराबाजी


शीतल निवासमा असन्तुष्ट जेनजीहरूको नाराबाजी
  • नवकिरण
  • आश्विन २५, २०८२

काठमाडौं, असोज २५ – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा शीतल निवासमा शनिबार जेनजी समूहसँगको महत्वपूर्ण वार्ता जारी छ। नेपालसहितका विभिन्न प्रदेशका जेनजी प्रतिनिधिहरू छलफलमा सहभागी भइरहेका छन्।

तर, सबै प्रतिनिधिहरूलाई भित्र प्रवेश अनुमति नपाएपछि बाहिर रहेका सदस्यहरू बीच असन्तुष्टि चर्किएको छ। शीतल निवासको बाहिरै केही प्रतिनिधिहरूले नाराबाजी गर्दै विरोध जनाएका छन्।

प्रदेश संयोजक खेमराज साउदले भने, “हामीलाई हिजो भित्र प्रवेश दिने भनिएको थियो, तर आज रोकियो। यसले अन्याय भएको महसुस भएको छ।”

सूत्रका अनुसार, प्रारम्भिक रूपमा १७ जना प्रतिनिधिलाई सहभागी गराउने योजना भए पनि पछि संख्या बढाएर २० भन्दा बढी प्रतिनिधि छलफलमा सामेल गरिएका छन्। तर, अझै केही जेनजी सदस्यहरू छलफलमा सहभागी हुने अपेक्षासहित शीतल निवास पुगे पनि भित्र प्रवेश पाउन सकेका छैनन्।

भित्र छिर्न नपाएका केही सदस्यहरूले जेनजीका अगुवा सुदन गुरुङमाथि “आफ्नै समूहलाई धोका दिएको” आरोपसमेत लगाएका छन्।

शीतल निवासभित्रको वार्ता जारी रहेको र छलफलको निष्कर्षबारे औपचारिक जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।