मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त


मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
  • नवकिरण
  • कार्तिक २४, २०८२

काठमाडौं, कार्तिक २४ – मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालै प्रदेशमा उत्पन्न राजनीतिक विवाद र घटनाक्रमलाई आधार मानेर उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले मधेशमा देखिएको असामान्य राजनीतिक स्थिति र प्रदेश प्रमुखको भूमिकासम्बन्धी आलोचनाले निर्णय आवश्यक भएको बताए।

गत आइतबार कांग्रेससहित सात दलले संविधानको धारा १६८(२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए। तर अस्वस्थताको कारण जनकपुरबाट काठमाडौं जाँदैछु भन्दै निस्किएकी भण्डारीले त्यसैबेला जनकपुरस्थित होटल पानसमा धारा १६८(३) अनुसार एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सोही होटलमा उनले यादवलाई शपथसमेत गराएकी थिइन्, जसले व्यापक विवाद निम्त्यायो।

घटना सार्वजनिक भएपछि उनी विरुद्ध तीव्र राजनीतिक प्रतिक्रिया देखा पर्‍यो। निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र सोनलले भण्डारीले प्रदेशको गरिमा नष्ट गर्ने कार्य गरेको आरोप लगाए भने क्रुद्ध प्रदेश सांसद र कार्यकर्ताले प्रदेश प्रमुख आवास तथा मुख्यमन्त्री कार्यालय परिसरमा तोडफोडसमेत गरेका थिए।

यी समग्र विवादपछि संघीय सरकारले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।