विघटित संसद पुनर्स्थापनाको मुद्दा आज संवैधानिक इजलासमा


विघटित संसद पुनर्स्थापनाको मुद्दा आज संवैधानिक इजलासमा
  • नवकिरण
  • पौष ९, २०८२

काठमाडौं, पुस ९ – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरिएको निवर्तमान सांसदहरूको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसद र अन्य तीन जनासहित ६८ जनाको हस्ताक्षर रहेको पूरक निवेदनमाथि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासमा पेसी तोकिएको हो । इजलासमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी रहनेछन् ।

कांग्रेसका कुल ८७ निवर्तमान सांसदमध्ये ६५ जनाको हस्ताक्षरसहितको पूरक निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । उक्त हस्ताक्षर वारेसका रूपमा पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत बुझाइएको हो ।

यसअघि विघटित प्रतिनिधिसभा अन्तर्गत कांग्रेस संसदीय दलका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित आठ जनाले मंसिर २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

यसै रिटमा स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डल तथा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका एक–एक जना निवर्तमान सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले पनि छुट्टै रिट दायर गरेका छन् । एमालेका अन्य निवर्तमान सांसदहरूले समेत पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

विभिन्न दलका निवर्तमान सांसदहरूबाट संकलित हस्ताक्षरको संख्या हाल १४३ पुगेको छ ।