काठमाडौं, पुस १६ – निर्वाचन खर्च विवरण समयमै नबुझाएको र मतदातामाझ सार्वजनिक नगरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही प्रभावशाली नेता निर्वाचन आयोगको ‘कालोसूची’मा परेका छन्। आयोगका अनुसार अघिल्लो निर्वाचनमा उम्मेदवार भएर कानुनअनुसारको दायित्व पूरा नगर्नेहरू कारबाहीको दायरामा परेका हुन्।
गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित रास्वपाका सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचन (कसुर तथा सजाय) ऐन अन्तर्गत कारबाहीमा परेका छन्। तोकिएको समयभित्र खर्च विवरण नबुझाई सार्वजनिक नगरेको भन्दै आयोगले उनीहरूलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको छ।
उक्त कालोसूचीमा अन्य दलका नेताहरू पनि छन्। कांग्रेस महामन्त्री गगन थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई, माओवादी नेतृ ओनसरी घर्ती र पम्फा भुसाल, कांग्रेसका सन्तोष चालिसे र भीमसेनदास प्रधान तथा साझा नेपालका मिलन पाण्डेलगायतको नाम सूचीमा रहेको आयोगले जनाएको छ। कतिपयले जरिवाना तिरे पनि खर्च विवरण सार्वजनिक नगरेको आयोगको भनाइ छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अघिल्लो निर्वाचनमा खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने दुवै प्रकारका उम्मेदवार कालोसूचीमा पर्छन्। उनले कानुनअनुसार आयोगको निर्णय नमान्ने व्यक्ति आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारे। ‘सबै उम्मेदवारको विवरण कम्प्युटर प्रणालीमार्फत जाँच हुन्छ, अघिल्लो चुनावमा त्रुटि भेटिए उम्मेदवारी नै अस्वीकार हुन्छ,’ उनले भने।
