देउवा–कोइराला–रिजालबीच भेट, विशेष महाधिवेशन रोक्ने विषयमा छलफल


देउवा–कोइराला–रिजालबीच भेट, विशेष महाधिवेशन रोक्ने विषयमा छलफल
  • नवकिरण
  • पौष २४, २०८२

काठमाडौँ, पुस २४ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। भेटमा नेता डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए। कोइराला र रिजाल देउवा निवास महाराजगञ्ज पुगेर छलफलमा सहभागी भएका हुन्।

भेटमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि आह्वान गरेको विशेष महाधिवेशन मुख्य एजेन्डा बनेको छ। विशेष महाधिवेशनको वैधता र त्यसले पार्टीमा पार्ने प्रभावबारे तीन नेताबीच विचार–विमर्श भइरहेको बताइएको छ।

कोइराला पक्षले उक्त विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै सभापति देउवालाई त्यसलाई रोक्न आग्रह गरेको स्रोतले जनाएको छ। कोइराला निकट स्रोतका अनुसार पार्टीमा थप विवाद नबढोस् भन्ने उद्देश्यले देउवासँग प्रत्यक्ष छलफल गरिएको हो।

यसअघि कांग्रेस केन्द्रीय कार्यालयले पनि महामन्त्रीद्वयद्वारा आह्वान गरिएको विशेष महाधिवेशन विधानसम्मत नरहेको भन्दै विज्ञप्ति सार्वजनिक गरिसकेको छ।