निर्वाचन आयोगले तोक्यो राष्ट्रिय झण्डा प्रयोगको मापदण्ड, कति ओटा सम्म प्रयोग गर्न पाइने?


निर्वाचन आयोगले तोक्यो राष्ट्रिय झण्डा प्रयोगको मापदण्ड, कति ओटा सम्म प्रयोग गर्न पाइने?
  • नवकिरण
  • माघ ११, २०८२

काठमाडौं, माघ ११ – निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी व्यवस्था स्पष्ट गरेको छ। आयोगका अनुसार चुनावी जुलुस, आमसभा, कोणसभा, घरदैलो तथा विभिन्न किसिमका र्‍यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइनेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचार अभियानमा राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको भन्दै विभिन्न पक्षबाट आलोचना आएपछि आयोगले यो प्रावधानबारे स्पष्टिकरण दिएको हो। तोकिएको सीमाभन्दा बढी झण्डा प्रयोग गरिएमा त्यसलाई निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन मानिने र कानुनी कारबाही हुने आयोगले जनाएको छ।

विशेष गरी सामाजिक सञ्जाल र सडक प्रदर्शनमा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग गरिएको गुनासो आएपछि आयोगले कडाइका साथ नियम पालना गर्न निर्देशन दिएको हो। आयोगका अनुसार सार्वजनिक कार्यक्रमबाहेक अन्य सामान्य प्रचार सामग्रीमा राष्ट्रिय झण्डा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता स्मरण गराउँदै राष्ट्रिय झण्डाको प्रयोग गर्दा तोकिएका नियम र सीमाभित्र रहेर मात्रै गर्न आग्रह गरेको छ।