काठमाडौं, साउन ३ – देशभर लगातार परेको वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने स्थानीय प्रशासनले २१ जिल्लाका जोखिमयुक्त सडकमा रातिको सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरेको छ।
प्रहरीका अनुसार हालसम्म आठ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्रमा मेची राजमार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने अरनिको राजमार्गका दुई स्थान, बाग्लुङको जैमिनी नगरपालिका–८ स्थित कालिगण्डकी करिडोर, ललितपुरको बागमती गाउँपालिका–३ मा पर्ने कान्ति लोकपथ, रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक, रोल्पाको माडी गाउँपालिका–६ र डडेलधुराको नवदुर्गा गाउँपालिकास्थित भित्री सडक पहिरोका कारण बन्द भएका छन्।
लगातारको वर्षासँगै कोशी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ। नदीको सतह बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएको छ। नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
जोखिमलाई मध्यनजर गर्दै प्रशासनले विभिन्न प्रदेशका २१ जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जे खण्ड, कान्ति लोकपथ तथा कोशी, बागमती र गण्डकी प्रदेशका धेरै पहाडी सडकमा रातिको यात्रा नगर्न अनुरोध गरिएको छ।
प्रहरी र स्थानीय प्रशासनले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसमको जानकारी लिएर मात्रै सडकमा निस्कन तथा पहिरो र बाढी प्रभावित क्षेत्रबाट सुरक्षित दूरी कायम गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
