काठमाडौँ, वैशाख १८ – १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। राजनीतिक दलहरू, श्रमिक संगठनहरू र संघसंस्थाहरूले र्याली, सभा र शुभकामना सन्देशमार्फत दिवस मनाइरहेका छन्।
राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिँदै श्रमिक वर्गको योगदानको प्रशंसा गरेका छन्। तर हरेक वर्ष झिलिमिली कार्यक्रम भए पनि मजदुरको अवस्था उस्तै रहेकोप्रति चिन्ता व्यक्त हुँदै आएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को प्रतिवेदन अनुसार नियमित रोजगारीमा संलग्न श्रमिक ११ प्रतिशतले घटेका छन्। श्रम ऐन कार्यान्वयनमा पनि चुनौती देखिएको छ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको आन्दोलनको सम्झनामा यो दिवस मनाइन्छ। नेपालमा २००७ सालदेखि मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। सरकारले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ।