चितवन, वैशाख २८ – चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान कोइला बोकेको ट्रक पल्टिएपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक पुनः सञ्चालनमा आएको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक पल्टिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार, ट्रकलाई सडकबाट हटाएपछि यातायात पुनः सुचारु गरिएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ गइरहेका सयौँ सवारीसाधन बाटोमै रोकिएका थिए। हाल सडक खुले पनि लामो जामका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नु परेको छ।