१० रुपैयाँ देखाएर बालिकालाई फकाई जंगलमा लगेका पुरुष पक्राउ


१० रुपैयाँ देखाएर बालिकालाई फकाई जंगलमा लगेका पुरुष पक्राउ
  • नवकिरण
  • श्रावण २३, २०८२

वीरगन्ज, साउन २३ – पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई एक ११ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, बालिका बुधबार बिहान बाख्रा चराउन नजिकैको क्षेत्रमा गएकी थिइन्। सो क्रममा साहले उनलाई १० रुपैयाँको लोभ देखाएर नजिकैको जंगलमा लगेका थिए। त्यहाँ उनले बालिकामाथि आपत्तिजनक क्रियाकलाप गरेका थिए।

घटना थाहा पाएपछि पीडितका अभिभावकले त्यही दिन साहविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार अपराह्न ३ बजे साहलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, साहविरुद्ध बाल यौन दुव्र्यवहार तथा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप लिइ अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अभिभावकहरूलाई सानो कुरामा लोभिन सक्ने उमेरका बालबालिकालाई एक्लै खुला ठाउँमा पठाउँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।