काठमाडौं, फागुन १६ – गत भदौमा भएको जेनजी आन्दोलनबारे तयार गरिएको बीबीसीको डकुमेन्ट्री जनकपुरमा सार्वजनिक प्रदर्शन गरिरहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक कार्यकर्ता गाडीसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको बी.आर ०१ जी ०१४६७ नम्बरको सवारीमा प्रोजेक्टर जडान गरी जनकपुरस्थित रेल्वे स्टेशन अगाडि डकुमेन्ट्री देखाइँदै थियो। सोही क्रममा रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले उक्त गाडीमार्फत डकुमेन्ट्री प्रदर्शन भइरहेको अवस्थामा प्रहरी टोलीले हस्तक्षेप गरेको जानकारी दिए। प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार घटनामा संलग्न अन्य दुईवटा गाडी भने फरार रहेका छन्।
प्रहरीले ती गाडीहरू पनि प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
