गोरखा, वैशाख २२ – गोरखाको शहिद लखन गाउँपालिकाले समयमै योजना सम्पन्न गर्ने वडालाई प्रोत्साहित गर्न नगद पुरस्कार दिने अभ्यासलाई निरन्तरता दिएको छ।
पालिकाले चालु आर्थिक वर्षमा समेत उत्कृष्ट वडा घोषित गर्दै वडा नम्बर ७ लाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
गत वर्षदेखि सुरु गरिएको यो नयाँ अभ्यास अन्तर्गत योजनाहरू समयमै सम्पन्न गर्न वडाहरूबीच प्रतिस्पर्धा बढेको अध्यक्ष रमेश थापाले बताए। उनले भने, “यो अभ्यासले कामको गति बढाएको छ र राजस्व संकलन क्षमतामा पनि सुधार आएको छ।”
पालिकाले उत्कृष्ट वडा छनोट गर्न छुट्टै कार्यविधि बनाएको छ। कार्यविधि अनुसार यो वर्ष वडा नम्बर ७ ले ८५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरका अनुसार सोमबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ७ लाई लगातार दोस्रो पटक पुरस्कृत गर्ने निर्णय गरेको हो।
वडाध्यक्ष शरण श्रेष्ठले पुरस्कारको श्रेय सम्पूर्ण वडा बासीलाई जाने बताउँदै समयमै काम सम्पन्न गर्ने सबै जनताको योगदानकै कारण वडा उत्कृष्ट बन्न सफल भएको प्रतिक्रिया दिए।
त्यस्तै, वडा नम्बर ८ ले ८० अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ। योजना छनोट, उपभोक्ता समिति गठन, योजना सम्झौता, भुक्तानी प्रक्रिया, राजस्व संकलन, जनश्रमदान तथा बेरुजु फस्र्योटजस्ता सूचकको मूल्यांकन गरी रिपोर्ट तयार गरिएको हो।
पालिका अनुसार वडा नम्बर ७ ले कार्यविधिअनुसार माघ महिनामै सम्पूर्ण योजना कार्यान्वयन सम्पन्न गरेको थियो।
यस अभ्यासले विकास निर्माणमा पारदर्शिता, समयमै कार्यान्वयन र नागरिक सहभागिता बढाउने पालिकाको अपेक्षा रहेको छ।