काठमाडौं, असार २६ – अमेरिका बसोबास गरिरहेका थप दुई नेपाली नागरिकलाई त्यहाँको अध्यागमन निकायले निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिकामा बसेको पाइएपछि उनीहरूलाई नेपाल फर्काइएको हो।
निष्कासनमा परेका व्यक्तिहरूमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्। अध्यागमन स्रोतका अनुसार गविन्दराज वलीलाई बुधबार र रेशमबहादुर केसीलाई असार ६ (जुन २१) मा काठमाडौं ल्याइएको हो। उनीहरूलाई कतार एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको जनाइएको छ।
यसअघि पनि अमेरिका सरकारले गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरूलाई चरणबद्ध रूपमा फिर्ता पठाउने काम गरिरहेको छ। अघिल्लो सातामात्रै तीन जना नेपालीलाई अमेरिका निष्कासन गरिएको थियो।
अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि सुरु भएको कडा आप्रवासन नीतिको प्रभाव अझै पनि देखिँदै आएको छ। यसअन्तर्गत अवैध रूपमा अमेरिका प्रवेश गर्ने र बिना कागजात बसोबास गर्ने विदेशी नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने क्रम तीव्र बनाइएको छ।
यसअघि पनि अमेरिकाले दर्जनौँ नेपालीलाई चार्टर्ड फ्लाइटमार्फत नेपाल फर्काइसकेको छ। अधिकारीहरूका अनुसार अध्यागमन नीति उल्लंघन गर्ने विदेशीहरूमाथि अमेरिकाले शून्य सहनशीलताको नीति अपनाइरहेको छ।
सरकारी अधिकारीहरूका अनुसार नेपाली नागरिकहरूले अमेरिका जाने प्रक्रिया अघि बढाउँदा वैधानिक र प्रमाणिक कागजातमा विशेष ध्यान दिन आवश्यक छ। अन्यथा, निष्कासन वा प्रतिबन्धको जोखिम हुने चेतावनी दिइएको छ।